काठमाडौं, ४ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा नेपाली सेना विवादमा पर्नु दुःखद भएको बताएका छन् ।

नेपाल शिक्षक संघ ललितपुरले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा कुटनीतिक अभ्यास भन्दा बाहिरबाट गतिविधि हुँदा नेपाली सेना पनि विवादमा परेको बताएका हुन् ।

‘यस्तो प्रकारको कूटनीतिक प्रक्रियाभन्दा बाहिर गएर गरिने अभ्यास निरन्तर भयो भने देशका लागि दुःखद हुन्छ । अहिलेसम्म विवादमा नपरी आएको नेपाली सेनालाई यो प्रकारको संलग्न हुने, पहिलेको नेतृत्व संलग्न हुने, अहिलेको नेतृत्व सुसूचित नहुने अनि विवादमा तानिने घटनाक्रम सुन्दर संकेत होइन’ उनले भने ।

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा एउटा सरकारको पालामा पत्राचार हुनु र अर्को सरकारले थाहा नपाउनु कुटनीतिक अभ्यासमा गम्भीर नहुनुको उदाहरण भएको शर्माले बताए ।

यस्तो प्रवृत्ति मुलकका लागि सुन्दर संकेत नभएको शर्माले बताए । यस्ता विषयमा एउटा दलले अर्कोलाई खसाल्ने खालको अभिव्यक्ति दिँदा राष्ट्रिय एकता कमजोर हुने महामन्त्री शर्माको भनाइ छ ।