गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गहनासहित एक यात्रु पक्राउ

भैरहवा, ४ असार । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् ।
भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा १२२ ग्राम गहना बरामद गरिएको हो ।
जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका पाल्पा रिब्दीकोटका राजेन्द्र कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तीर्थराज पासवानले जानकारी दिए ।
बिहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखिएको हो । युवा काम गरेर नेपाल फर्केको अवस्थाको हो वा अन्य भन्ने विषय खुलेको छैन । वैधानिक रुपमा ५० ग्रामसम्म सुन ल्याउन पाइने व्यवस्था रहे पनि अन्य गहनाको हकमा पूर्व जानकारी गराउनु पर्ने भएपनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ । पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


