जनकपुरधाममा ‘जनकपुरधाम हेरिटेज एप’ को शुभारम्भ

जनकपुरधाम, १ असार । जनकपुरधाममा ‘जनकपुरधाम हेरिटेज एप’ को शुभारम्भ गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका लागि यूकेएड र सुदृढ परियोजनाद्वारा निर्माण गरिएको मोबाइल एप बुधबार एक कार्यक्रमका बिच नगरप्रमुख मनोजकुमार साहले शुभारम्भ गरेका हुन् ।
नगर प्रमुख साहले एपको माध्यमबाट जनकपुरधामका पर्यटकीय स्थलको बारेमा विश्वले थाहा पाउनुको साथै यहाँ आउने पर्यटकहरुलाई एक स्थानबाट अर्को स्थानसम्म पुग्न सहज हुने बताए ।
उनले जनकपुरधाममा वर्षभरी मनाइने सांस्कृतिक कार्यक्रमको बारेमा सो एपमा उल्लेख गर्न सुझाव समेत दिएका छन् । एपमा अंगे्रजी, नेपाली, मैथिली र हिन्दी भाषा समावेश गरिएको छ ।
सो एपको माध्यमबाट जनकपुरधामका करिब एक सय पर्यटकीय स्थलको भ्रमण सहजै गर्न सकिने आईटी अफिसर अनिलकुमार अनतले बताए । यो एप तत्काल एन्ड्रोएड मोबाइलमा मात्र चल्ने जनाइए पनि केही दिनमै सबै प्रकारको मोबाइलमा चल्ने बताइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको आधिकारीक वेबसाइटमा गएर स्क्यान गरी मोबाइलको प्ले स्टोरबाट यो एप राख्न सकिने छ । सो एपमा जनकपुरधामका मुख्यमुख्य पर्यटकीय स्थललाई सहजै मोबाइलमा हेर्न सकिने छ ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्याय, बेलायती दुतावासकी सल्लाहकार सविता थापालगायत एपसँग सम्बन्धित संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


