जानकी मन्दिरले विजुली बिल वापतको ७८ लाख रुपैयाँ किस्ताबन्दीमा तिर्ने

जनकपुरधाम, १ असार । जानकी मन्दिरले विजुली बिल वापतको बक्यौंता ७८ लाख रुपैयाँ महसुल किस्ताबन्दीमा तिर्ने भएको छ ।
महसुल नतिरे लाइन काटिदिने ३ दिने अल्टिमेटम पश्चात जानकी मन्दिरले किस्ताबन्दीमा महसुल तिर्न सहमत भएको हो ।
विद्युत प्राधिकरणको जानकी मन्दिरमाथि लामोसमयदेखिको ७८ लाख ४१ हजार ३३६ रुपैयाँ बिजुली बिल बाँकी छ । पटक पटक महसुल तिर्न प्राधिकरणले ताकेता गरेपनि जानकी मन्दिरले बेवास्ता गर्दै आएको थियो ।
गत जेठ २३ गते प्राधिकरण जनकपुरले तीनदिन भित्र महसुल नतिरे लाईन काटिदिने अल्टिमेटम दिएको थियो । त्यस पश्चात जानकी मन्दिरले मासिक ३ लाख २७ हजार रुपैयाँको दरले २ वर्षसम्म किस्तामा महसुल तिर्न सहमत भएको हो ।
महसुल तिरिदिन विभिन्न निकायसँग आग्रह गरेपनि नतिरेपछि लाईन काटिने अवस्थामा बाध्य भएर मन्दिरले नै तिर्न सहमत भएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।
जानकी मन्दिरमा महिनाको लाखौं रुपैयाँ भेटी चढ्छ भने जानकी मन्दिर छेउका विवाह मण्डप ठेक्का लागेको आम्दानी आउने गर्छ । तर, मन्दिरले महसुल नतिर्दा जानकी मन्दिरको चर्को आलोचना हुँदै आएको छ ।
महन्थ दासले चढेको भेटी र विवाह मण्डपबाट आएको आम्दानीले जानकी मन्दिरमा पूजासामग्री, दैनिक निःशुल्क भोजन, विभिन्न उत्सवसहित व्यवस्थापनमा खर्च गर्ने गरेकोले विद्युत महसुल तिर्न नसकेको दावी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


