काठमाडौं, ३१ जेठ । नेकपा एमालेका सांसद विशाल भट्टराईले देशको बजेट बनाउँदा बाहिरको मानिस अर्थ मन्त्रालय गएको विषयमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा झुट बोलेको बताएका छन् ।

उनले बजेट बनाउनु अघिल्लो रात अर्थ मन्त्रालयमा को गएको थियो या थिएन भन्ने अब शर्माले भनेर मात्र नहुने बताएका छन् ।

‘त्यो दिनको सिसिटिभी फुटेज यहाँ ल्याएर देखाइयोस्,’ भट्टराईले भनेका छन्, ‘अनाधिकृत व्यक्ति छिरेर फेरिएका करका दायराबारे स्पष्ट हुनुपर्छ । हामी मुकदर्शक भएर बस्न सक्दैनौँ । एमाले मूकदर्शक भएर बस्न सक्दैन ।’

उनले अर्थमन्त्रीको राजीनामा आउनु पर्ने पनि बताएका छन् ।

‘अझै पनि समय छ,’ गम्भीर कुराहरु आएका छन्, ‘छानबिन समिति गठन होस् । छानबिनले दिने रिपोर्टबाट बल्ल टुंगो लाग्नेछ ।’

उनले आफूले दलको तर्फबाट पनि संसदीय छानबिन समिति बनाउनु पर्ने अनुरोध गरेका छन् ।