काठमाडौं, ३० जेठ । अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् ।

उनले समितिको बैंठकमा परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफलको सुरुवात गरेको बताउँदै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण लगायतका विषयमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई समितिको बैठकको छलफलमा बोलाउने बताइन् ।

उनले भनिन्, ‘आगामी दिनमा परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई निमन्त्रणा गर्ने भएका छौं । समितिको बैठकमा बोलाएर समितिले व्यापक छलफल गर्ने छ ।’

प्रमुख प्रतिपक्षी दल एमालेले बैठकमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका थिए ।