जनकपुरधाम, ३० जेठ । धनुषाको औरही गाउँपालिकास्थित श्री मावि परवाहा देउरीमा अध्यापन गराउने शिक्षिकामाथि सोही गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले दुर्व्यवहार गरेका छन् ।

औरही गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साहले विद्यालय परिसरमै आयोजना गरिएको स्वागत तथा विदाइ कार्यक्रममा शिक्षिका प्रतिभा झामाथि दुर्व्यवहार गरेका हुन् ।

पीडित शिक्षिका झाले कार्यक्रममा महिलाले पनि बोल्न पाउनु पर्ने माग राखेकी थिइन् । उनले संविधानले प्रदत गरेको ३३ प्रतिशत अधिकार सुनिश्चित हुनुपर्ने माग गरेलगत्तै अध्यक्ष साहले ‘तँ बस’ भन्दै उनी बोलिरहेको क्रममा उनको हातबाट माईक खोसेका थिए ।

अध्यक्ष साहले शिक्षिका झाको हातबाट माईक खोस्दै गरेको भिडिओ समेत सार्वजनिक भएको छ ।

पहिलेदेखि नै गुण्डागर्दी आएका साहले विद्यालय परिसरभित्रै आयोजना गरिएको सार्वजनिक कार्यक्रममा पनि एक महिलामाथि दुर्व्यवहार गर्दा उनको चौतर्फि आलोचना भएको छ ।

सो क्रममा विद्यालयका हेडमास्टर शशि कुमार सिंहले समेत आफूमाथि दुर्व्यवहार गरेको शिक्षिका झाको आरोप छ ।

शिक्षिका झाले अध्यक्ष साहविरुद्ध जिल्ला अदालत धनुषामा अभद्र गालीगलौज शिर्षकमा मुद्दा दर्ता गराएकी छन् ।

शिक्षिका झा २०७१ सालदेखि सो विद्यालयमा कार्यरत रहेकी छन् ।

यस सम्बन्धमा गाउँपालिका अध्यक्ष साहले स्वागत तथा सम्मान कार्यक्रममा शिक्षिका झाले आफूलाई केन्द्रित गरेर अपशब्द प्रयोग गर्न थाल्दा आफूले उनको हातबाट माइक खोसेको स्वीकार गरेका छन् ।

उनले आफ्नो गल्ती स्वीकार गर्दै क्षमा याचना गर्न पनि आफू तयार रहेको प्रतिक्रिया दिएका छन् ।