विराटनगर, २७ जेठ । बिरामीको मृत्यु भएपछि विराटनगर अस्पतालमा तनाव भएको छ ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि ल्याइएकोमा मृत्यु भएपछि परिवारको जानकारीबेगर शव बाहिर निकालेकोले तनाव भएको हो ।

गत २३ जेठमा इटटरी–२ स्थित हलगाडामा कालिकोट घर भई मोरङको सुन्दरहरैंचा–४ मा बस्दै आएका ३४ वर्षीय वीरेन्द्र सहकारी बोगटीलाई प्रदेश–१–०४–००१ च ०१७५ नम्बरको पिकअपले ठक्कर दिएको थियो । साइकलमा सवार सहकारी पिकअपको ठक्करबाट गम्भीर घाइते भएका थिए ।

सहकारीलाई उपचारका लागि विराटनगर अस्पताल ल्याइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न पिकअप सुनसरीको रामधुनी–३ का शम्भुबहादुर दाहालको हो । दुर्घटना भएकै दिन सहकारीका आफन्तले इलाका प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएका थिए ।

तर, प्रहरीले गाडी धनीको प्रभावमा परी दुर्घटनामा गम्भीर घाइतेको उपचार नहुँदै गाडी र त्यसका चालकलाई छोडेको आरोप पीडित पक्षको छ ।

गाडी धनी दाहालले सहकारीको मृत्यु भएपछि पीडित पक्षलाई आन्दोलन नगर्न दबाब दिँदै आएका थिए । शुक्रबार पीडित परिवारले केही सर्त राखेपछि दाहाल छलफलमा बसेका थिए । तर, अस्पतालका सुरक्षा गार्डले छलफलमा बसेका मृतकका आफन्तलाई हातपात गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

सो क्रममा अस्पतालका सुरक्षा गार्डले मृतकका भतिजा मिलन बोगटीमाथि खुकुरी प्रहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

खुकुरी प्रहारबाट बोगटीको हातमा चोट लागेको मृतकका दाजु राजेन्द्र सहकारीले आरोप लगाए । उनले अस्पताले गाडीधनीसँग मिलेर पीडित पक्षमाथि अन्याय गरेको बताए ।

सुरक्षा गार्ड र पीडित पक्षबीच भएको तनावका क्रममा तोडफोड समेत भएको छ । अस्पताल तनाबग्रस्त बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।