पर्सा, २७ जेठ । पर्साको जिल्ला समन्वय समिति (जिसस)मा जनता समाजवादी पार्टी र नेकपा एमालेको संयुक्त प्यानल विजयी भएको छ ।

जिसस पर्साको शुक्रबार सम्पन्न निर्वाचनमा जसपाका निरञ्जन साह (अजय) सोनार प्यानलसहित विजयी भएका हुन् । उनी २ मतको अन्तरले प्रमुखमा निर्वाचित भएका हुन् ।

उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उमेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा एमोलका पूर्णप्रसाद कुर्मी, सदस्यमा जसपाका वैजयन्ती देवी, राजपति देवी, विनयप्रसाद कुर्मी, एमालेका श्रीकान्ती देवी, सुशीला कामी, रामप्रसाद यादव र सलिम मियाँ अन्सारी निर्वाचित भएका छन् । अरु सबैले १५ मत पाउँदा जसपाका विनयप्रसाद कुर्मीले भने १६ मत प्राप्त गरेका थिए ।

पर्साका १४ स्थानीय तहमा कांग्रेसबाट १२, एमालेबाट १०, जसपाबाट ५ र लोसपाबाट १ गरी कुल २८ प्रमुख–उपप्रमुख निर्वाचित भएका छन् ।