काठमाडौं, २७ जेठ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा महिला तथा नाबालिकाको अश्लील भिडियो र तस्बिर बनाएर पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पीडितको जाहेरीपछि एकजनालाई धुलिखेलबाट र एक महिलालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाको तस्बिर इडिट गरी अश्लील भिडियो बनाएर नाबालिकाका आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाएर चरित्रहत्या गरेको आरोपमा जेठ २५ गते काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर ६ घर भएका २० वर्षीय विकेश सोजुँलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर धुलिखेल नगरपालिका–६ बाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

यस्तै, महिलाको तस्बिर दुरुपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्सनसहित पोस्ट गरी महिलाको चरित्रहत्या गरेको आरोपमा खोटाङ, ऐसेलुखर्ककी २० वर्षीया भोजकुमारी दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमाथि काठमाडौं जिल्ला अदातलबाट पाँच दिनको म्याद थप भई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।