महोत्तरी, २७ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनैतहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेकोले तीनै तहबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘मधेसलाई समृद्ध बनाउनका लागि गरिने विकास निर्माणका कार्यहरु स्थानीय तह मातहतकै गाँउ ठाउँमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गर्ने विकास निर्माण त्यही ठाँउमा गर्नु पर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्य विना समृद्धि र विकास सम्भव छैन ।’

मुख्यमन्त्री राउतले स्थानीय सरकारहरुले ल्याउने विकास निर्माणका योजनाहरुमा काँधमा काँध मिलाएर अघि बढन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गरे ।

सरकार सञ्चालन तथा विकास निर्माणसँग सम्बन्धित विषयमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुलाई कानून प्रक्रियाहरुबारे अवगत हुन आग्रह समेत गरेका छन् ।

विगतमा संघीय सरकारले कर्मचारी समायोजन तथा वितिय बाँडफाँडमा गरेको विभेदका कारण स्थानीय तहलाई विभिन्न समस्याहरु झेल्नु परेको बताउँदै उनले अबको दिनमा सुधार गर्न संघीय सरकारसँग आग्रह गरे ।

मधेस सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा धनुषा र पर्सा बाहेक ६ जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको छ । प्रशिक्षण तीन दिनसम्म चल्ने छ ।