जनकपुरधाम, २६ जेठ । करीब दुई दशक लामो प्रयासपछि राजर्षि जनक विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक संसदबाट पारित भएसँगै मधेस प्रदेशमा सो विश्वविद्यालय स्थापनाको बाटो खुलेको थियो । २०७४ असोज २६ गते संसदबाट सो विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

राजर्षि जनक विश्वविद्यालयको स्थापनासँगै जनकपुरधाममा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसलाई आधार क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पस र सप्तरीस्थित विन्देश्वरी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसको रुपमा लिएर काम पनि अगाडी बढाइयो । तर विश्वविद्यालय स्थापना भएदेखि नै त्यहाँको अवस्था अस्तव्यस्त रहेको छ । कहिले पेपर कन्ट्रयाक्टमा राखिएका उपप्राध्यापकहरुको आन्दोलन त कहिले विद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई विवादको कृडास्थलको रुपमा परिणत हुँदै आईरहेको छ ।

राजर्षि जनक विश्वविद्यालयको स्थापना कालमा विशेष व्यवस्था सहित ५ जना शिक्षक करारमा नियुक्त गरिएपनि उनीहरु विश्वविद्यालय भन्दापनी अन्य नीजि शैक्षिक संस्थाहरुमा बढी सक्रिय रहेको पाइएको छ ।

विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले उनीहरु बिना सहमती अन्यत्र खटेको र विश्वविद्यालयलाई मासिक तलब खाने भाँडोको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘पूरा समय विश्वविद्यालयलाई दिनु पर्ने भएपनि उनीहरु भि.सि र रजिस्ट्रारको नजिकका मान्छेहरु भएकाले कसैले कारवाही गर्न सकेका छैनन् । यस विश्वविद्यालयको सम्पुर्ण कक्षा भार पेपर कोर्स कन्ट्रयाकट शिक्षकहरुले लिएका छन् ।’ यदि पेपर कन्ट्रयाक्ट शिक्षकहरु नभएको भए यस विश्वविद्यालयको पठनपाठन एक कदम पनि अगाडि बढन नसक्ने उनको दावी छ ।

परीक्षा, पाठयक्रम, भ्रमण, दैनिक क्रियाकलाप, सहजकर्ता आदि सबैको भूमिकामा पेपर कन्ट्रयाकट शिक्षकहरुनै रहेपनि उनीहरुलाई करार तथा स्थायी शिक्षकहरुले अर्कै नजरबाट हेरिरहेको पेपर कोर्स कन्ट्रयाक्ट शिक्षक संघका सभापति दिलिप यादवको दुःखेसो छ ।कुनै अतिरिक्त भत्ता समेत नदिने गरेको उनको गुनासो छ ।

यो विश्वविद्यालय पेपर कोर्स कन्ट्रयाक्ट शिक्षककै भरमा चलेपनि करार र स्थायीको बाहुल्यता रहेको संकायमा दिन प्रतिदिन बिद्यार्थीको संख्या घटिरहेको उनी सुनाउँछन् ।

कम शुल्कमा गुणस्तरीय शिक्षा दिने यस थलोमा शिक्षकहरुको सहि किसिमबाट व्यवस्थापन गरि यस संस्थालाई मधेसकै शानको रुपमा विकास गर्नु जरुरी रहेको उनी बताउँछन् ।

राजर्षि जनक विश्व विद्यालयमा एलएलबी, बीबीए, बीसीए, बीएससीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठन पाठन हुँदै आईरहेको छ ।