नेपाल विद्युत प्राधिकरण मिटर रिडर संघर्ष समितिद्वारा आन्दोलनको चेतावनी

जनकपुरधाम, २६ जेठ । नेपाल विद्युत प्राधिकरण मिटर रिडर संघर्ष समितिले आन्दोलनको चेतावनी दिएको छ ।
प्राधिकरण कार्यालयबाट अपमानपूर्ण व्यवहार भएको भन्दै संघर्ष समितिले आन्दोलनको चेतावनी दिएको हो ।
नेपाल विद्युत प्राधिकरणको मधेस प्रदेशको प्रादेशिक कार्यालयलाई संघर्ष समितिका अध्यक्ष रामनाथ महतो र सचिव सुरेन्द्र अरगरियाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै आगामी ७ दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
लामो समयदेखि प्राधिकरणले मिटर रिडरमाथि विभेद गर्दै सेवासुविधाबाट वञ्चित गरेको संघर्ष समितिको आरोप छ ।
लामो समयदेखि कार्यरत रहेर विद्युत प्राधिकरणको हरेक कामकाजमा उत्साहपूर्ण र सक्रिय सहभागी भए पनि मिटर रिडरलाई बेवास्ता गर्दै आएको उनीहरुको भनाइ छ ।
पटकपटक आफ्ना मागबारे ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले समाधानका लागि कुनै चासो नदेखाएकाले ७ दिनभित्र माग सम्बोधन गर्न उनीहरुले अल्टिमेटम दिएका छन् ।
ध्यानाकर्षण पत्रमा विगत १५ वर्षदेखि विद्युत प्राधिकरणमा कार्य गर्दै आए पनि प्राविधिकरुपमा पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित गरेको उल्लेख छ ।
‘हामी मिटर रिडरलाई विभेद गरी गोटे ठेक्काका मान्छे हुन् भनि दुष्प्रचार गरियो । हामीले यस प्राधिकरणमा गरेको योगदान र श्रमको खिल्ली उडाइयो, कुनै मूल्यांकन समेत भएन,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
माग पूरा नभए आगामी असार १ गतेबाट चरणबद्धरुपमा आन्दोलनको कार्यक्रम अघि बढाउने संघर्ष समितिले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


