सामूहिक बलात्कार घटनाका तीन नाबालक आरोपितलाई बालसुधार गृह पठाइयो

सप्तरी, २६ जेठ । सप्तरीमा किशोरीमाथि भएको सामूहिक बलात्कार घटनाका तीन नाबालक आरोपितलाई बालसुधार गृह पठाइएको छ ।
जिल्ला अदालतको आदेशमा उनीहरूलाई बिहीबार बालसुधार गृह वीरगञ्ज पठाइएको हो ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले आरोपित शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल रामलाई भने पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको छ ।
घटनाका मुख्य आरोपित २० वर्षीय दिपक सरदार भने फरार रहेका छन् ।
गत जेठ २ गते पूर्व–पश्चिम राजमार्गको दक्षिण शम्भुनाथ नगरपालिका–३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको थियो । उनीहरूले आफूलाई सामूहिक बलात्कार गरेको पीडितले बताएकी छन् ।
पीडितका अनुसार आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिणतर्फ पानी ट्यांकी छेउमा लगेर सामूहिक बलात्कार गरेका थिए ।
घटनाबारे घरपरिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रहरीले तत्कालै सुरैतलाल र तीन नाबालकलाई पक्राउ गरेर अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


