काठमाडौं, २५ जेठ । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीले सिफारिस गरेका नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम बुधबार नभए बिहीबारसम्म हुने बताएका छन् ।

उनले पार्टीले निर्णय गरिसकेकाले यो फिर्ता नहुने र सरकारमा नै सहभागी दल जनता समाजवादी पार्टीले केही दिन मागेकाले यसअघि सपथ केही दिनका लागि सरेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई सरकारमा सिफारिस गरेको छ । यो नयाँ सूचीमा मेटमणिलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तर, यसअघि पार्टीले निर्णय गरे पनि मन्त्रीहरुको नयाँ सेटले सपथ लिन पाएको थिएन ।

यही सन्दर्भमा बुधबार दिउँसो प्रतिनिधिसभामा चौधरीले भने, ‘हामीले सपथ लिने कन्फर्म भइसक्दा जसपाका साथीहरुले केही दिन आन्तरिक समस्या सम्बोधनका लागि समय चाहिन्छ भनेपछि ढिलो भएको हो । मन्त्री त सम्भवतः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने भोलि सपथ पक्कै हुन्छ ।’

उनले मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय भइसकेकाले यसलाई अपरिपक्व भन्न नमिल्ने पनि बताएका छन् ।