सर्लाही, २५ जेठ । सर्लाहीमा टाटासुमो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच जना घाइते भएका छन् ।

बुधबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी लच्का नजिकै ज १ च ९६२ नम्वरको टाटासुमो आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा परी जनकपुरधामका पाँच जना व्यक्ति घाइते भएका छन् ।

घाइते हुनेहरुमा टाटासुमो चालक जनकपुरधाम उपमहानगरपालिका–१३, पिडारी चोक बस्ने ४० वर्षीय दिलीपकुमार महरा, टाटासुमोका धनी जनकपुरधाम उपमहानगरपालिका–१४, रजौल बस्ने ५९ वर्षीय श्रीराम साह, उनकी श्रीमती ४५ वर्षीया राजवती साह, छोरी २५ वर्षीया कृति साह र छोरा २० वर्षीय शिरिसकुमार साह छन् ।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार टाटासुमो चालकको अवस्था गम्भीर छ । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पाँचैजना घाइतेलाई लालबन्दीमा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।

साहका परिवार स्वास्थ्य परीक्षणका लागि आफ्नै गाडीमा भरतपुरतर्फ जाँदै गरेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

चलकले आफू निदाएका कारण गाडी अनियन्त्रित भइ नजिकैको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीलाई बयान दिएका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।