परासी, २४ जेठ । जिल्ला अदालत नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुर बस्ने २८ वर्षीय हंशराज यादव छन् ।

यादवलाई मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख एसपी ऋषिराम कँडेलले बताए ।

उनका अनुसार यादवको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरिएको छ ।

सोमबार दिउँसो साढे १ बजे अदालत परिसरमा यादवले काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेका थिए । एक राउण्ड फायर गरेर भागेका उनलाई ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने बताइएको छ ।

अदालतमा उनीहरुबीच अंश मुद्दा चलिरहेको थियो ।