जनकपुरधाम, २४ जेठ । बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजारमा प्रहरीको गोली लाग्दा नवीना थारूको मृत्यु भएको घटनाबारे तराई मधेस लोकतान्त्रिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

पार्टी अध्यक्ष वृषेशचन्द्र लालले मंगलबार एक विज्ञप्ती जारी गर्दै घटनाका दोषीहरुमाथि तत्काल कडा कारबाहीको माग गरेका छन् ।

अध्यक्ष लालले जारी गरेको विज्ञप्तीमा यस घटनाबाट प्रहरीको मानसिकता पुनः एक पटक जनसमक्ष आएको जिकिर गरिएको छ ।

मधेशी र थारु जनतालाई सुरक्षा जस्तो अनिवार्य र न्यायोचित अधिकारको सुनिश्चितताको माग गर्नेसम्म अधिकार नभएको र यसो गर्दा सीधै गोली खाने स्थिति रहेको यस घटनाबाट पुनः प्रमाणित भएको विज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष लालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हिंसक वन्यजन्तुबाट नागरिकको सुरक्षाप्रति उदासीनताको कारणले भएको क्षतिप्रति आक्रोशित जनताले सुरक्षाको माग गर्दै प्रदर्शन गर्दा गोली चलाइएको छ । प्रहरीको गोलीले १२ कक्षामा अध्ययनरत किशोरी नवीना थारूको मृत्यु भएको छ । यसबाट सरकार र प्रहरीको मानसिकता पुनः एक पटक जनसमक्ष आएको छ । मधेशी र थारु जनतालाई सुरक्षा जस्तो अनिवार्य र न्यायोचित अधिकारको सुनिश्चितताको माग गर्नेसम्म अधिकार नभएको र यसो गर्दा सीधै गोली खाने स्थिति रहेको यस घटनाबाट पुनः प्रमाणित भएको छ ।’