जनकपुरधाम, २३ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा सौन्दर्यीकरण र हरियालीका लागि सडकपेटीमा रोपिएका फूलका विरुवाहरु चोरी हुन थालेका छन् ।

फूलका विरुवाका साथै फूलको संरक्षणका लागि लगाइएका ट्रिगार्ड समेत ठाउँठाउँबाट चोरी भइरहेको पाइएको छ ।

आइतबार बिहान करिव ४ः३० बजेको समयमा नगरको शुक्रबारी बजारस्थित नेपाल राष्«ट बैंकको अगाडिबाट हातमा सेतो झोला लिएर आएका एक चोरले फूलका विरुवा ट्रिगार्डबाट उखेलेर लगेको दृष्य सिसिटिभि क्यामेरामा कैद भएको छ ।

यसअघि पनि फूलका विरुवा र ट्रिगार्ड चोरी भएको स्थानीय व्यापारी शंकर महासेठले बताए । सौन्दर्यीकरणका लागि आफूले निजी लगानीमा आफ्नो पसलको अगाडि रहेको ट्रिगार्डमा रोपेको फुल चोरी भएको उनको दुःखेसो छ ।

ट्रिगार्ड चोरी गर्ने र जथाभावी फूलहरु टिप्ने व्यक्तिको पहिचान गरि कारबाहीका लागि उनले माग गरेका छन् ।

उनले भने, ‘नगरको सौन्दर्यीकरण सम्पूर्ण नगरबासीको पनि चाहना हो । तर, यसरी बिच बाटोबाटै फूलहरु चोरी हुँदासमेत सम्बन्धीत निकायले ध्यान नदिनु दुःखद हो ।’

यस सम्बन्धमा नगर प्रमुख मनोज कुमार साहले सडकको बीचभागमा रोपिएका फूल तथा ट्रिगार्ड चोरी गर्ने व्यक्तिको बारेमा कुनै पनि सूचना उपलब्ध भएमा उपमहानगरपालिका तथा सुरक्षा निकायमा खबर गरि सहयोग गरिदिन अनुरोध गरेका छन् ।

उपमहानगरपालिकाले आगामी दिनमा नगरलाई सौन्दर्यीकरण गर्ने काम प्राथमिकतामा राखेको भन्दै नगर प्रमुख साहले आम नगरबासीबाट साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

http://https://www.facebook.com/100003752712168/videos/1042868882998417/