युवाहरुले गरे चुरे संरक्षण अभियानको शुभारम्भ

जनकपुरधाम, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा धनुषाका युवाहरुले वृक्षारोपण गरेका छन् ।
उनीहरुले धनुषाको गणेशमान चारनाथ नगरपालिकाको उत्तरीबेल्टमा पर्ने केशरदमारमा–५ मा ५ सय विरुवा रोपेका हुन् ।
कायापलट तथा सेभ द चिल्ड्रेनको आयोजना एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मधेस प्रदेश, गणेशमान चारनाथ नगरपालिका र नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा वृक्षारोपण गरिएको थियो ।
वृक्षारोपणमा विभिन्न प्रजातिका रुखहरु रोपिएको छ भने चुरे र चुरे संरक्षणमा सरोकारवालालाई उत्तरदायी बनाउन चुरे संरक्षणको अभियान समेत शुभारम्भ गरिएको कायापलटका संयोजक दिवाकर उप्रेतीले बताए ।
उनले भने, ‘चुरेसँग तराईको भू–भाग मात्र जोडिएको छैन् । यससँग समग्र जिविकोपार्जन तथा जिवन जोडिएको छ । यसलाई संरक्षण नगरे मानव अस्तित्व नै समाप्त हुनेछ ।’
उप्रेतीका अनुसार चुरेलाई मात्र संरक्षण गर्नसके तराईमा बढ्दै गएको गर्मी र पानिको समस्या समाधान हुनेछ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा गणेशमान चारनाथ नगरपालिकाका मेयर जित नारायण यादवले जिवनको उत्तरार्द्धमा मानिसको लागि सबैभन्दा महत्वपूर्ण भूमिका वनजंगलकै हुने बताए ।
यादवले भने, ‘संरक्षणमा स्थानीय तहको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्नेछौँ । तर, चुरे मासेर जिवननै धरापमा बन्न लागेकोले बालबालिका तथा युवा जागरुक भएकोमा हर्षित छु ।’
उनले स्थानीय निकायको भूमिकामा रहुन्जेल युवा तथा बालबालिकालाई सहयोग गर्ने बताए । उनले समग्रमा युवा तथा बालबालिकाले वन तथा रुखको अस्तित्व बुझे स्वतः हरियाली बन्ने बताए ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका अभिलेष विनित कर्ण, नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशका अध्यक्ष मनोज दनुवार तथा सामुदायिक वनका अध्यक्ष विर बहादुर मगर लगायत ७० भन्दा बढि व्यक्तिको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


