काठमाडौं, २२ जेठ । नेकपा माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्न पहल गर्ने निर्णय भएको समेत गजुरेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय समितिको बैठक आगामी असार १५ मा आयोजना गर्नेबारे समेत छलफल भएको छ ।