विराटनगर, २२ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेण्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन् ।

विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने बताएका हुन् ।

उनले भने, ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ ।’

पार्टीको अगुवा कार्यकर्ता भेलाका लागि विराटनगर आएका थापाले डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको बताउँदै राजसंस्था फर्कन सक्ने अवस्था नरहेको दाबी गरे ।

अर्को प्रसंगमा अध्यक्ष थापाले अहिले हिन्दु, बौद्ध र किरात धर्मप्रति संगठित रुपमा आतंक सिर्जना गरिएको र यो प्रकृयालाई रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा रहेको बताए ।