शहीदनगरका दर्जनौं नेता/कार्यकर्ताद्वारा नेपाली कांग्रेस परित्याग

जनकपुरधाम, २१ जेठ । धनुषाको शहीदनगर नगरपालिकाका दर्जनौं नेता/कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् ।
शहीद नगरपालिका वडा नम्बर–९ का पूर्वसभापति दिलिप भरखेर यादव, वडा सदस्य राजाराम बरही, ऋषिनारायण सिंह, क्षेत्रिय प्रतिनिधी अजय श्रीवास्तव, वडा सचिव आजिन्द्र कुमार यादव, नेताहरु ओपिन्द्र यादव, शम्भु गोहिबार, बुधेश्वर मुखिया, रामसागर धनकोटी, विजय सुनरैत, बबुल मुखिया, बिन्देश्वर बरही सहितकाले नेपाली कांग्रेस परित्याग गरेका हुन् ।
वडामा क्रियाशिल व्यक्तिलाई टिकट नदिएको र नेताहरुले रकम लिएर टिकट दिएपछि यहाँका कांग्रेसी नेतामा तिक्तता बढेको छ ।
‘सक्रियतापूर्वक पार्टीका लागि दिनरात काम गरिरहेपनि आफूहरुलाई पाखा लगाएर नेताहरुले मनमानी गरेका छन’ पार्टी परित्याग गरेका ओपिन्द्रले भने, ‘काम आफूहरुले गर्ने, अनि फाइदा नेताले लिने भएपछि किन काम गर्ने ?’
अर्का नेता ऋषि सिंहले नेताहरु नातावाद र पैसावादमा लागेर पार्टीलाई नै बर्बाद गरेपछि आफूहरु अलग भएको बताए । ‘मिहिनेत आफूले गर्ने, अनि फाइदा लिएर नेताहरु मोटो बनेपछि आफूहरु अलग भएका हौं ।’
वडा नम्बर–९ का पूर्वसभापति दिलिप भरखेर यादव नेताहरुको व्यवहारबाट आफूहरु दिक्क भएको बताए । उनले आफू चुनावअघि नै पार्टी छोड्ने मनसाय बनाएपनि चुनावमा पार्टीका उम्मेदवारलाई असर पर्न सक्ने भएकाले चुनावमा काम गरेर छाडेको बताए ।
‘चुनावअघि नै पार्टी छाडेको भए आफूहरुमाथि अपजस लाग्थ्यो’ उनले भने, ‘पार्टीका उम्मेदबारलाई जिताएर पार्टी छोडेका हौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


