जनकपुरधाम, २१ जेठ । प्रहरीले जनकपुरधामबाट जरायोको सिंगसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया बस्ने २० वर्षीय सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका–३ बस्ने २० वर्षीय रितेश कुमार पाण्डे रहेका छन् ।

धनुषा प्रहरीले उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियाबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट खैरो रंगको ३ सिंगे १ थान र कालो रंगको २ सिंगे १ थान काटिएको जरायोको सिंग बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

सिंग बेचबिखन भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि वन डिभिजन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरूले ६ लाख रुपैयाँमा उक्त सिंग बेच्न लागेको थियो ।