काठमाडौं, २० जेठ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ ।

अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । जुन दिन निर्वाचनको मिति तोकिन्छ त्यही दिनबाट दर्ता कार्यक्रम रोकिने आयोगले यसबारे छिट्टै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउने उनले बताए ।

उनले भने– ‘अहिले भर्खरै सकिएको स्थानीय तह निर्वाचनमा कतिपय मतदातालाई इच्छा हुँदा हुँदै पनि मतदाता नामावलीमा आफ्नो नाम नभएका कारणले गर्दा मतदान गर्न पाउनुभएन । उमेर पुगेकाहरूले मतदान गर्न पाउने अधिकारलाई सम्बोधन गर्नका लागि नाम दर्ता खोल्नुपर्ने स्थिति रहेको छ । त्यसकारण आयोगले नाम दर्ता खोल्ने योजना बनाएको छ ।’

निर्वाचनको मिति घोषणा भएको दिनदेखि नाम दर्ता गर्ने काम रोकेर मतदाता नामावली प्रशोधनको काम सुरु गर्ने र सो काम सहित समग्र निर्वाचनको तयारीको काम गर्न आयोगलाई १ सय २० दिन समय लाग्ने उनले बताए । २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष माथिका १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।