जनकपुरधाम, १९ जेठ । सामाजिक सञ्जाल, टिकटक, इन्टाग्रामलगायतको प्रविधिको प्रयोग गरी चरित्र हत्या गर्नेदेखि धाकधम्की तथा अपमानजनक एवं दुरुत्साहनसम्मका अपराधिक घटनाहरु बढ्दै गएपछि धनुषा प्रहरीमा साईबर क्राईमसम्बन्धी उजुरीहरु बढ्न थालेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मुजलिया बस्ने ६३ वर्षीय ब्रहम्देव मिश्रको टिकटकको माध्यमबाट एक व्यक्तिले अस्लिल गीतमा व्यक्तिगत भिडियो नबुझ्ने गरि हालेका छन् ।

उनको भिडियो टिकटकमा भाइरल भएपछि मिश्रका घरपरिवार, आफन्तजन तथा इस्टमित्रले समेत भिडियो प्रति आपत्ति जनाउँदै फोन गर्न थालेपछि उनले आफ्नो चरित्र हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित मुजेलियामा बस्दै आएका बाराको सिमरौनगढस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत ३५ वर्षीय अरुण कुमार यादवले आफुमाथि अन्याय गरेको भन्दै मिश्रले प्रहरीमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा सामाजिक सञ्जालको माध्यमले चरित्र हत्या देखि समाजमा विकृति विसंगति फैलाउने खालका समेत भिडियोहरु आफुखुसी प्रयोगकर्ताले राख्न थालेपछि धनुषा प्रहरीमा उजुरीको संख्या बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले साईबर क्राइम सम्बन्धी उजुरीहरु लिन नमिलेपनि प्रहरीले भने पीडितलाई प्रक्रिया अनुसार बाटो देखाइदिने र ठाडो उजुरीको माध्यमले सामान्य प्रकृति खालका घटनाहरु तत्कालै मिलाउने गरेको छ भने विशेष प्रकृतिका घटनाहरुलाई साईबर क्राइममै तत्कालै पठाइने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

धनुषामा विशेष गरि सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्वका स्थलमा विकृति विसंगतीजन्य विवादित भिडियोहरु सामाजिक सञ्जाल, टिकटक, इन्स्टाग्राममा हाल्ने गरेको, व्यक्तिप्रति बदला लिने द्वेषभावनाले आपत्तिजनक भोजपुरी गीतमा अर्काको भिडियो राखेर भाईरल बनाउने, अर्काको सामाजिक सञ्जालको दुरुपयोग गर्ने, अपमान गर्ने खालका घटनाहरु बढि मात्रामा आउने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।