जयनगर–जनकपुरधाम रेलको एक बोगीमा केमिकल पोखिएर आगलागी

जनकपुरधाम, १९ जेठ । नेपालको एकमात्र जयनगर–जनकपुरधाम रेलको एउटा बोगीमा केमिकल पोखिएर आगलागी भएको छ ।
जयनगर स्टेशनबाट कुर्था आउने क्रममा १९०१ नम्बर रेलको एउटा बोगीमा बिहीबार दिउँसो आगलागी भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका हुन् ।
बोगीमा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको महाप्रवन्धक झाले बताए ।
प्रतिबन्धित केमिकल बोकेर जयनगरस्थित १ नम्बर गेटबाट रेलमा प्रवेश गरेकी दुई महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाएको उनले जानकारी दिए ।
उनले भने, ‘केमिकल बोकेर रेलमा प्रवेश गरेकी महिलाहरुले यात्रु बस्ने बोगीमा केमिकल राख्दा पोखिएर त्यही बोगीमा यात्रा गरेरहेकी अर्की एक महिलाको शरीरमा पोखिंदा उनलाई आगोको जलन जस्तो महसुुस भएपछि बोगीभित्र हल्ला मचिएको थियो । केमिकलकै छेउमा एउटा सानो ग्यास सिलिण्डर पनि रहेकोले केमिकल पोखिदा आगोको मुस्लो जस्तै निस्केपछि सबै डराएका थिए ।’
महाप्रवन्धक झाले पक्राउ परेका उनीहरुमाथि अनुसन्धान अघि बढाइने बताए । उनले अहिले रेल जनकपुरधाम आइसकेकोसमेत जानकारी दिए ।
रेलमा भएको आगलागीबाट सामान्य क्षति भएको महाप्रवन्धक झाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


