काठमाडौं, १९ जेठ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीको सरुवा–बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा हुने सबै सरुवा–बढुवा उत्कृष्टताको आधारमा गर्ने बताएका हुन् । प्रहरी संगठनभित्र ब्याच छलेर तथा ब्याचका कनिष्ठलाई टिपेर सरुवा र बढुवामा प्राथमिकतामा दिने अवस्थाका अन्त्य हुने उनले बताए ।

महानिरीक्षक सिंहले आफ्नो ब्याचमा उत्कृष्ट हुने व्यक्तिले नै सरुवा र बढुवामा प्राथमिकता दिनेगरी आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

महानिरीक्षक सिंहले अघिल्ला महानिरीक्षकले प्राथमिकतामा राखेर अघि बढाएका कामलाई आफूले निरन्तरता दिने बताए । नेपाल प्रहरी आलोचित बनिरहेको निर्मला पन्त हत्याको विषयलाई टुंगो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

नेपाल सरकारले सिंहलाई गत वैशाख १८ गते प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । सिंहलाई महानिरीक्षकमा नियुक्त गरेसँगै दाबेदार मानिएका अतिरिक्त महानिरीक्षकहरुले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यसको टुंगो अझै लागिसकेको छैन । महानिरीक्षक सिंहले आइजिपीको कार्यभार सम्हालेको आज एक महिना पुगेको छ ।