वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा अध्यक्ष तिमिल्सिनाको जोड

काठमाडौं, १८ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
विगतमा हामीले वनलाई धनको रुपमा परिणत गर्न सक्यौँ वा सकेनौँ भन्ने कुराको समीक्षा गर्दै मुलुकको आर्थिक विकासका लागि त्यसको अधिकतम उपयोग गर्न ढिलाई गर्न नहुनेसमेत स्पष्ट पारे ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ‘हरियो वन, नेपाल धन’ भन्ने नारा यथार्थपरक भए पनि यसको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन नसकिएकोमा चिन्ता व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल प्रयोग स्वरुप दोस्रो पटक स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै अव त्यसलाई बचाउँदै देश र जनताको हितका लागि आर्थिक विकास र समृद्धिको दिशामा अघि बढन अति आवश्यक रहेको बताए ।
‘हरियो वन नेपालको धन, कृषि प्रदान, उद्योग प्रदान भएर देशलाई आर्थिक विकास र समृद्धिको दिशामा लानुपर्ने हुन्छ । यस हिसावले यो वन क्षेत्रको विकास गर्नुपर्ने हुन्छ । यसलाई डढेलो लगाउने, जंगलहरु फडानी गर्ने काम गर्नु हुन्न । यो चिन्ताको विषय हो’ उनले भने ।
अध्यक्ष तिमिल्सिनाले नेपालमा वन, जंगल बढे पनि डढेलो र कटान गरेर विनाश हुने गरेको भन्दै चिन्ता समेत व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


