जनकपुरधाम, १८ जेठ । धनुषाको नगराइन नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विनय कुमार यादवले पदभार ग्रहण गरेका छन् ।

बुधबार नगराइनस्थित नगर कार्यपालिकाको कार्यालयमा पदभार ग्रहण गर्दै नगरप्रमुख यादवले विभिन्न ७ वटा निर्णयहरु गरेका हुन् ।

नगरप्रमुख यादवले नगरपालिका स्तरीय स्वास्थ जाँच सम्बन्धि प्रयोगशाला (Pathology laboratory) को व्यवस्थापन गरि सञ्चालन गर्ने, नगरपालिका भित्रका जेष्ठ नागरिक, असहाय, एकल महिला, गर्भवती र अति विपन्न वर्गलाई प्रथम पोषण केन्द्रसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन् ।

नगरप्रमुख यादवले नगराइन नगरपालिका वडा नम्बर–२ जटहीमा सहिद गेट निर्माण गर्ने, नगराईन नगर कार्यपालिका प्रशासकीय भवन निर्माण कार्यको आवश्यक प्रक्रिया अगाडि बढाउने, वडा नम्बर–५ गंगुलीदेखि वडा नम्बर–२ नेपालको सिमानासम्मको सिक्सलेन सडकको डिभाइडरमा वृक्षारोपण तथा सडक सरसफाइ गरि सौन्दर्यीकरण गर्ने निर्णय गरेका हुन् ।

उनले नगरपालिकाको लक्ष्य र उदेश्य परिपुर्ति हुने गरि गुणस्तरीय शिक्षा र स्वास्थ सेवा प्रदान गर्ने तथा कृषि क्षेत्रलाई उच्च स्तरीय प्राथमिकता राखी किसानहरुलाई समयमा मलखाद उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णयसमेत गरेका छन् ।