काठमाडौं, १७ जेठ । सभामुख अग्नि सापकोटाले संसदीय समितिका सदस्यहरु हेरफेर गरेका छन् ।

नेकपा एमाले सत्ताबाट बाहिरिएको झण्डै एक वर्षपछि तत्कालीन समयमा मन्त्री भएका सांसदहरुको नाम समितिमा राखेर हेरफेर गरिएको हो ।

मन्त्री भएपछि समितिको सदस्यबाट स्वतः हट्ने व्यवस्था छ । दलहरुले दिएको नामका आधारमा मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिमा रहने सांसदहरुको नाम पेस गरेर अनुमोदन गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाअन्तर्गतको एउटै समितिको सदस्य बनेका छन् । उनीहरु दुवैजना प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य भएका हुन् ।

ओलीलाई अन्तर्राष्ट्रिय समितिको सदस्य बनाउने प्रस्ताव संसदबाट अनुमोदन भएको छ । उक्त समितिको सभापति एमालेकी सांसद पवित्रा निरौला खरेल छन् ।

एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उमहासचिव प्रदीप ज्ञवालीलाई पनि त्यही समितिको सदस्य बनाएको छ । त्यस्तै, विष्णु पौडेल अर्थ समितिको सदस्य भएका छन् । हृदयेश त्रिपाठी यसपटक अर्थ समितिको सदस्य भएका छन् । कांग्रेसका मीनेन्द्र रिजाललाई पनि अर्थ समितिमा पठाइएको छ ।

एमालेका लीलानाथ श्रेष्ठ र जुलीकुमारी महतो उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सदस्य भएका छन् । भानुभक्त ढकाललाई कानुन न्याय तथा मानव अधिकार समितिमा, पार्वत गुरुङलाई कृषि तथा सहकारी समितिको सदस्य बनाइएको छ ।