हत्या आरोपमा दुई बालक पक्राउ

सुनसरी, १७ जेठ । प्रहरीले सुनसरीबाट हत्या आरोपमा दुई बालकलाई पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–११ विष्णु चोकका ३१ वर्षीय सन्दीप लम्जेलको हत्या आरोपमा १७ वर्षीय र १३ वर्षीय गरी २ बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुटा सागुरीगढी घर भई हाल धरान उपमहानगरपालिका–१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका थिए । उनीहरूमध्ये १७ वर्षीयालाई धनकुटाको छिन्ताङबाट शनिबार र १३ वर्षीयालाई धरानको बगरकोटबाट शुक्रबार पक्राउ गरिएको हो ।
धरान उपमहानगरपालिका–५ तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा बिहीबार बिहान शरीरको विभिन्न भागमा धारिलो हतियारले घोपेको तथा काटिएको अवस्थामा सन्दीपको शव भेटिएको थियो । सो घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
शारीरिक सम्बन्ध राख्ने केटी खोजी देउ भन्दै उनीहरूलाई लम्जेलले धम्का गाली गलौजसमेत गरेको रिसइवीमा केटी सम्पर्कमा छ भन्ने झुक्यानमा पारी उक्त खोलामा बोलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि जिल्ला अदालत सुनसरीबाट ज्यानसम्बन्धी कसूरमा ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


