सप्तरी, १७ जेठ । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्षले आफ्नो छुट्टै सचिवालय संचालन गर्न लागेका छन् ।

गाउँपालिकाको भवन हुँदाहुँदै नवनिर्वाचित अध्यक्ष दिनानाथ चौधरीले छुट्टै सचिवालय संचालन गर्न लागेका हुन् । उनले सचिवालय संचालन गर्नेसम्बन्धी निर्णय पहिलो कार्यपालिका बैठकबाटै गराएका छन् ।

पहिलो कार्यपालिकाको बैठकले ८ वटा निर्णय गरेको छ । जसमध्ये एउटा सचिवालय संचालन गर्ने रहेको छ । गाउँपालिकाको वडा नम्बर–१ जण्डौल बजारमा रहेको सामुदायिक भवनमा सचिवालय स्थापना गर्ने निर्णय गरिएको छ ।

सचिवालय स्थापना गर्दा लाग्ने फर्निचर, कम्प्युटर, प्रिन्टरसहितका सबै सामान गाउँपालिकाबाट खरीद गराउने निर्णय सर्वसम्मतिले गरिएको हो ।

चौधरी नेकपा एमालेबाट निर्वाचित भएका छन् । उपाध्यक्षमा भने कांग्रेसले जितेको छ ।

कार्यपालिकाको पहिलो बैठकले अध्यक्ष चौधरीले सिसिटिभी क्यामेराबाट सम्पूर्ण वडाको कामकारबाहीलाई निगरानी गर्ने र त्यसका निम्ति कार्यकक्षमा स्क्रिन जडान गर्ने निर्णय पनि गरेको छ । अध्यक्षकै कार्यकक्षमा पालिकाको एक्स्टेन्सन टेलिफोनसमेत जडान गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले हप्ताको एक दिन शनिबार मात्रै बिदा दिने र वडा नम्बर १, ५ र ६ को फोहोर महुली खोला तथा वडा नम्बर २, ३ र ४ को फोहोर अमसोत खोलामा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका ज्येष्ठ नागरिक, सुत्केरी हुने महिला तथा सडक दुर्घटनामा घाइते भएका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र एम्बुलेन्स संचालनमा लाग्ने खर्चको भुक्तानी पालिकाबाट छुट्टै योजना बनाई त्यसबाट भुक्तानी दिने निर्णय गरिएको छ ।