बटसावित्री पर्व हर्षोल्लासका साथ मनाइयो

जनकपुरधाम, १६ जेठ । पतिको दीर्घायुका लागि मिथिलाञ्चल क्षेत्रका विवाहिता महिलाले बटसावित्री पर्व आज हर्षोल्लासका साथ मनाएका छन् ।
जनकपुरधाम लगायत ग्रामीण क्षेत्रका महिलाहरुले वरको रुखमा रातो पहेलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्दै बट सावित्री पर्व मनाएका हुन् ।
विवाहित महिलाहरुले मनाउने यो पर्वमा वरको पूजा गरिन्छ । पर्वमा महिलाहरु नयाँ लुगा, श्रृंगारका सामानका साथै पूजा सामाग्री किन्ने गर्छन् । नवविवाहिता महिलाहरुका लागि यो पर्वमा बेहुलाको घरबाट पूजा सामग्रीका साथै पाहुर आउने गर्छ ।
प्रत्येक वर्ष ज्येष्ठ महिनाको औंसी तिथिमा मनाइने यो पर्वलाई मिथिला संस्कृतिमा आदर्श नारीत्वको प्रतीक मानिँदै नारीत्व रक्षा र सन्तान प्राप्तिमा सहयोग गर्ने रुपमा हेरिन्छ ।
हिन्दु धर्ममा पीपलको बोट जस्तै महत्वपूर्ण मानिने बरलाई दार्शनिक दृष्टिबाट दीर्घायु तथा अमरत्व बोधको प्रतीकको रुपमा स्वीकार गरिएको छ । यही मर्म अनुसार बरको बोटमा पतिको दीर्घायुका लागि पूजा गर्नु बटसावित्री पर्वको मुख्य पक्ष रहेको छ ।
महिलाहरुले यो दिन व्रत बसेर पूजा गरी कथा सुनेपछि बरको बोटमा सूतीको धागो बाँध्ने गर्छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


