निजगढ विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने मन्त्री आलेको प्रतिबद्धता

काठमाडौं, १६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताएका हुन् ।
मन्त्री आलेले हेलिकोप्टर र हवाइजहाजहरु युरोपबाट ‘सेकेन्डह्यान्ड’मा किनेर नेपालमा प्रयोग गरिने गरेको भन्दै यसरी मानिसको जीवनमा खेलबाड नगर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।
जहाजहरुको पुरै इन्जिनियरिङ सर्वे गरेर मात्रै प्रयोग गर्न सम्बन्धित निकायलाई उनले निर्देशन दिए । ‘क्यानका महानिर्देशकज्यू हुनुहुन्छ, म यहीँबाट निर्देशन दिन चाहान्छु कि यी सबै कुरा इन्जिनियरिङबाट पूरै यसको सर्वे हुनुपर्छ ।’
बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताए । राज्यका कुनै पनि निकाय विकासको सहयोगी हुनुपर्ने उनको भनाइ थियो ।
विकास निर्माणको काममा बाधा उत्पन्न हुने किसिमको कुनै पनि काम नहोस् भन्नेमा राज्यका सबै निकाय सजग हुनुपर्ने उनले बताए ।अध्यक्ष नेपालले अदालतको फैसलाको पाठको आधारमा निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताए ।विमानस्थल बनाउन नसके ठुलो मूल्य चुकाउनुपर्ने उनले बताए । यसका लागि आवश्यक परेमा सर्वदलीय सहमति गरेर काम गर्नुपर्ने उनले सुझाए ।
नेकपा एमालेका सांसद भीम रावलले कानुन परिवर्तन गरेर भए पनि निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताए । सर्वोच्च अदालतको आदेश बेवास्ता गरेर भए पनि निर्माण हुनुपर्नेमा उनले जोड दिए ।
नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले निजगढ विमानस्थल बन्न नसेकमा सय वर्ष पछाडि परिने टिप्पणी गरे । निर्माण सम्पन्न गर्न नदिने सर्वोच्चको फैसला खारेज गर्ने दिशामा जानुपर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


