काठमाडौं, १६ जेठ । पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको विमानको दुर्घटनाको कारण खराब मौसम भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मौसमका कारण यो विमान दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेका छन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमान दुर्घटनाको विषयमा संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा बताएका थिए ।

उनले खराब मौसमका कारण राइट टर्न गर्नु पर्ने विमानले लेफ्ट टर्न गरेर भित्तामा ठोक्किएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।

महानिर्देशक अधिकारीले यो घटनाबारे अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने पनि बताएका छन् । घटनास्थल जोमसोमबाट ८ नटिकल माइल दूरीमा पर्छ । विमान थासाङ गाउँपालिकाको सानुसरे भन्ने भीरमा ठोक्किएको थियो ।

जोमसोमका लागि उडान भरेको विमानमा चालक दलका ३ सदस्यसहित १९ जना यात्रु सवार थिए । यीमध्ये ४ जना भारतीय र २ जना जर्मन नागरिक हुन् । घटनामा उनीहरु सबैको निधन भएको पुष्टि भइसकेको छ ।

अहिले उद्धार कार्य जारी छ । उद्धार कर्ताहरुले अहिलेसम्म १६ जनाको शव फेला पारेका छन् । तर, शवहरुको पहिचान भइसकेको छैन ।