उदयपुर, १६ जेठ । उदयपुरको कटारी नगरपालिकाको चनौटमा ट्रक दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको छ ।

सिद्धीचरण लोकमार्गअन्तरगत पर्ने कटारी–१४ भदौरेस्थित चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक सोमबार बिहान दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज लामा र ३७ वर्षीय राजन तामाङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ट्रक सडकबाट करिब एक सय मिटर खसेको छ ।