काठमाडौं, १५ जेठ । आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एअरको जहाज अहिलेसम्म फेला नपरेको तारा एअरले जनाएको छ ।

पोखराबाट जोमसोमका लागि ९ः५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको तारा एअरले जनाएको हो ।

सम्पर्कविहीन भएपश्चात्देखि नै स्थल तथा हवाई मार्गमार्फत तीव्र रूपमा खोजी कार्य भइरहेको तारा एअरले विज्ञप्तिमार्फत जनाएको छ ।

वायुयान हराइरहेको सम्भावित स्थान न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी तालवरिपरि खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी तथा तारा एअरको उद्धार टोली परिचालन गरिएको छ ।

नेपाली सेनाको एमआई १७ र फिस्टेल एअरको हेलिकप्टोरमार्फत पनि खोजी भइरहेको तारा एअरले जनाएको छ ।

तारा एअरको टुइनेटर विमान अन्तिमपटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।