महंगी नियन्त्रण गर्ने कार्यक्रम नआएको सांसद संग्रौलाको टिप्पणी

काठमाडौ., १४ जेठ । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले महंगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी छन् ।
शनिबार संसदमा बोल्दै उनले सरकारले बढ्दो महंगी नियन्त्रण गर्ने कार्यक्रम नल्याएको बताएकी हुन् ।
उनले भनिन्, ‘महंगी अहिलेको प्रमुख आर्थिक समस्या हो तर यसलाई कसरी नियन्त्रण गर्ने र मुद्रास्फितिको कारणले अप्ठ्यारोमा परेका गरिब तथा वञ्चित समुदायलाई कसरी राहत दिने भन्ने बारेमा नीति तथा कार्यक्रममा उपायहरू सुझाइएको छैन । आशा छ बजेटमा यी कुराहरू समेटिने छन् ।’
त्यस्तै उनले देशबाट युवा विदेशिने क्रम रोक्न नसकेको तर सरकारले नेपालमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान नदिएको बताइन् । नेपालमै रोजगारी सिर्जना गर्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उनको भनाइ छ ।
स्वदेशी उत्पादनको उपभोग बढाउने नीति राम्रो भए पनि मुख्य कुरा यो कसरी गर्ने भन्ने रहेको उनले बताइन् । भर्खरै देशभरि नै स्थानीय चुनाव सम्पन्न भएको र नेपाली कांग्रेस पहिलो पार्टी बनेको उल्लेख गर्दै उनले देशभरि उत्साहको वातावरण रहेको दाबी गरिन् ।
संसदमा उनले महिला हिंसाबारे पनि कुरा उठाइन् । देशमा बलात्कारजस्ता जघन्य अपराध जारी रहेको भन्दै उनले दोषीलाई सजाय दिन र बलात्कारमा हद म्यादको व्यवस्था परिवर्तन गर्न माग गरिन् ।
नीति तथा कार्यक्रममा घर जग्गा कारोबारलाई व्यवस्थित गर्न छुट्टै निकायको निर्माण गरिने कुरा स्वागतयोग्य रहे पनि यो निकायका अधिकार र कार्यप्रणालीको बारेमा व्यापक छलफल गरिनु आवश्यक रहेको बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


