सिरहा, १४ जेठ । सिरहाको गोलबजार नगरपालिकाका नवनिर्वाचित मेयर श्याम कुमार श्रेष्ठले दलित समुदायका महिलाहरूलाई ५ हजार सुत्केरी भत्ता र ५ हजार किरिया खर्च तथा फुसका छाना भएका घरहरूलाई जस्ता पाताले विस्थापित गर्ने पहिलो निर्णय गरेका छन् ।

मेयर श्रेष्ठले पदभार ग्रहण गर्दै नगर क्षेत्रमा रहेका फुसका छाना भएका घरहरूलाई जस्ता पाताले विस्थापित गर्ने, दलित समुदायका महिलाहरूलाई ५ हजार सुत्केरी भत्ता तथा दलित समुदायको व्यक्तिगत घटना जन्म, विवाह, मृत्यु दर्ता निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

नगर क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाउन बोरिङ जडान गर्ने निर्णय गरेको छ । उत्तरी क्षेत्र र नगर क्षेत्रका मुख्य बजारमा खानेपानीको असुविधा रहेकाले तत्काल सञ्चालन गर्न बोरिङ जडान गर्ने जनाए । एक समारोहबीच मेयर श्रेष्ठले निर्वाचित उपमेयर, वडा अध्यक्षहरू तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि सांसद तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठले अबका जनप्रतिनिधिहरूले विकास निर्माणको काममा विशेष जोड दिनुपर्ने बताए ।

यस अघि निर्वाचित जन प्रतिनिधिहरूको काँधमा ऐन कानुन बनाउने, कार्यालय भवनहरू बनाउने लगायतका जिम्मेवारीहरू समेत रहेको बताउँदै अबका जनप्रतिनिधिले विकास निर्माणको काममा विशेष जोड दिनुपर्ने औँल्याए ।

पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवले विकास निर्माणसँगै स्थानीय सरकारले पारदर्शिता र सुशासन कायम गर्नु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेको बताउँदै जनभावना अनुसार काम गरे पुनः अनुमोदन हुने बताए ।

उद्योग वाणिज्य संघ गोल बजारका अध्यक्ष भरत अग्रवालले स्थानीय सरकारले विकास निर्माणसँगै सुशासन, पारदर्शितामा जोड दिनुपर्ने बताए ।