विराटनगरको मेयर उम्मेदवार बनेका १३ मध्ये १० जनाको जमानत जफत

विराटनगर, १३ जेठ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका १३ मध्ये १० जनाको जमानत जफत भएको छ ।
कांग्रेसका नागेश कोइराला, एमालेका सागर थापा र स्वतन्त्र उम्मेदवार उमेश यादवबाहेक मेयर पदका अन्य सबैको जमानत जफत भएको हो । कांग्रेसका कोइराला मेयरमा निर्वाचित भएका छन् । एमालेका सागर थापा दोस्रो र जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका यादव तेस्रो भए ।
विराटनगरका मेयरका लागि १३ जना चुनावी मैदानमा थिए । तर, १० जनाले जमानतनै जोगाउन सकेनन् । राप्रपाका प्रल्हाद साह, जनमत पार्टीका अरुणकुमार मण्डल, लोसपाका मृत्युन्जयकुमार मिश्र, विवेकशील साझाका अमलेशकुमार कर्ण, नेकपा (माले) की देवी पौडेल, नेकपा (एस) का सोनेलाल राजवंशी, पिछडावर्ग निषाद दलित जनजाति पार्टीका प्रदीपकुमार कामत, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका नागेश्वरसिंह राजपुत, नेपाली कांग्रेस वीपीका राचन्द्र गौतम र स्वतन्त्र उम्मेदवार सक्रिय गौतमले जमानत जोगाउन नसकेका हुन् ।
विराटनगरमा १ लाख ३३ लाख १ सय ४२ मतदाता मध्ये ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका थिए । मेयरमा २१ हजार ३ सय ५८ मत बदर भएको छ ।
कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


