वडाध्यक्ष निरजले गरे पदभार ग्रहण, आफ्नो पहिलो प्राथमिकता वडाको सरसफाइ रहेको उनको भनाइ

जनकपुरधाम, १३ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का नवनिर्वाचित वडाध्यक्ष निरज कुमार साह (मुन्ना)ले पदभार ग्रहण गरेका छन् ।
बिहिबार नगरप्रमुख मनोज कुमार साहले शपथ ग्रहण गराएपछि शुक्रबार आफ्ना नवनिर्वाचित सदस्यहरुसँग वडा कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्न जाँदा उनलाई वडाबासीले भव्य स्वागत गरेका छन् ।
पदभार ग्रहणपश्चात वडाध्यक्ष साहले वडाबासीले गरेको सम्मान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता वडाको सौन्दर्यीकरण र सरसफाइ रहेकोसमेत बताए ।
यसअघिका वडाध्यक्ष जानकीराम साहले पूरा गर्न नसकेका अधुरा कामहरू पूरा गर्ने उनले दाबी गरे ।
वडावासीका काममा सरल र सहज तरिकाले प्रस्तुत हुने आफ्नो कार्यशैलीका कारण सबैले आफूलाई सेवाको मौका दिएकोले यस विश्वासलाई कुनैपनि हालतमा गुम्न नदिने उनले प्रतिबद्धतासमेत जनाए ।
आफू वडाबासीको सल्लाह सुझाव अनुसार दृष्टिकोण र लक्ष्य लिएर अघि बढेको वडाध्यक्ष निरजले बताए ।
उनले आफू वडाको सर्वांगिन विकासका लागि ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै भ्रष्टाचारमुक्त गर्ने, सरकारी विद्यालयलाई उच्च शिक्षास्तरको बनाउने प्रतिबद्धतासमेत उनले जनाएका हुन् ।
उनले वडाभित्रको मठमन्दिर, पोखरी, मस्जीद सौन्दर्यीकरण गर्ने, प्राथमिक स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टर बनाउन पहल गर्ने, सार्वजनिक जग्गालाई भूमाफियाबाट संरक्षण गर्ने, वडाबासीको एक एक समस्यालाई समाधान गर्ने, लामखुट्टे रहित वडा बनाउनेलगायतका प्रतिबद्धता समेत जनाए ।
निरजले बृद्धभत्ता, एकल महिला भत्ता समयमै उपलब्ध गराउने, जनकपुरधाम उद्योग वाणिज्य संघसँग समन्वय गरेर व्यवसायीलाई तालिम र व्यवसायीक क्षमता अभिवृद्धिका लागि पहल गर्न सदैव कटिबद्ध रहने समेत बताए ।
उनले आफ्नो वडाभित्र मिथिलाको संस्कृति झल्काउने झिझियालाई प्रोत्साहन गर्नुका साथै सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


