देवान पोखरीको सौन्दर्यीकरण आफ्नो पहिलो प्राथमिकता : वडाध्यक्ष साह

जनकपुरधाम, १२ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-३ का नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र साहले पदभार ग्रहण गरेका छन् ।
बिहिबार नगरप्रमुख मनोज कुमार साहले शपथ ग्रहण गराएलगत्तै वडा कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्न जाँदा उनलाई वडाबासीले भव्य स्वागत गरेका थिए ।
पदभार ग्रहणपश्चात वडाध्यक्ष साहले वडाबासीले गरेको सम्मान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् ।
उनले आफ्नो पहिलो प्राथमिकता देवान पोखरीको सौन्दर्यीकरण र वडाको सरसफाइ रहेकोसमेत बताए ।
पहिलो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरिसकेका वडाध्यक्ष साह पुनः दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
आफ्नो पहिलो कार्यकालमा धेरै कार्य गरेको दाबी गर्दै उनले आफूले चाहेर पनि पूरा गर्न नसकेका अधुरा कामहरू पुनः दोस्रो कार्यकालमा पूरा गर्ने दाबी गरे ।
वडावासीका काममा सरल र सहज तरिकाले प्रस्तुत हुने आफ्नो कार्यशैलीका कारण सबैले पुनः दोस्रोपटक पनि आफूलाई सेवाको मौका दिएकोले यस विश्वासलाई कुनैपनि हालतमा गुम्न नदिने उनले प्रतिबद्धतासमेत जनाए ।
आफूले विगतमा गरेको काम र वडावासीलाई आगामी दिनमा गर्ने कामको फेहरिस्त प्रस्तुत गरेकाले नै आफूलाई पुनः वडाध्यक्षको कुर्सीमा बस्ने अवसर प्राप्त भएको उनको धारणा छ ।
आफू वडाबासीको सल्लाह सुझाव अनुसार दृष्टिकोण र लक्ष्य लिएर अघि बढेको वडाध्यक्ष दिपेन्द्रले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


