काठमाडौं, १२ जेठ । एम्नेस्टी इन्टरनेसनलले बलात्कार तथा अन्य यौन हिंसाको उजुरी एक वर्षभित्र गर्नु पर्ने हदम्यादलाई हटाउन आग्रह गरेको छ ।

बलात्कारसम्बन्धी कानुनलाई सुधार गर्न तथा यौन हिंसाका पीडितहरूलाई छिटो न्याय प्रदान गर्ने व्यवस्थाको माग गर्दै जारी रहेको विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै एम्नेस्टीले विद्यमान हदम्यादको व्यवस्थालाई तत्काल हटाउनु पर्ने बताएको हो ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ मा अपराध भएको मितिबाट एक वर्षभित्र बलात्कारको उजुरी दर्ता गरिसक्नुपर्ने व्यवस्था छ ।

आठ वर्षअघि आफू १६ वर्षको हुँदा बलात्कार गरिएको आरोपसहित ४ जेठमा एकजना पीडितले आफूमाथि भएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि यो व्यवस्था हटाउँदै बलात्कारको उजुरी जहिले गरे पनि हुने व्यवस्था गर्न सरकारमाथि दबाब परेको छ ।

बलात्कार र अन्य यौन हिंसासम्बन्धी कानुनमा भएका अन्य थुप्रै प्रावधानहरू पनि अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्ड अनुरूप नभएको भन्दै एम्नेस्टीले ती कानुनलाई सुधार्न भनेको छ ।