जनकपुरधाम, १२ जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरुको पुत्ला जलाइएको छ ।

स्थानीय भानूचोकमा लोकतान्त्रिक समाजवादी पार्टी निकट लोसपा युवा संघ र लोसपा विद्यार्थी संघको आयोजनामा बिच सडकमै पुत्ला जलाइएको हो ।

पाँचदलीय गठबन्धनको सरकारले जनतालाई राहत भन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आफूहरुले प्रधानमन्त्रीलगायत सत्तारुढ दलका नेताहरुको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको लोसपा युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले बताए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा जनतालाई असर परेकाले यसको विरुद्ध सबैजना एकजुट भएर मूल्यवृद्धि फिर्ता नहुञ्जेल आन्दोलन जारी रहने झाले बताए ।

अध्यक्ष झाले जनतालाई सास्ती हुनेगरी गरिएको मूल्यवृद्धिले जनजिविका चलाउन निकै कठिनाइ भएकोले सरकारले यो निर्णय तत्काल नसच्याए आगामी दिनमा अझ कडा कदम चाल्न आफूहरु बाध्य हुने चेतावनीसमेत दिए ।

सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ ।