काठमाडौं, १२ जेठ । आफ्नै श्रीमतीको हत्या अभियोगमा जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला सर्वोच्च अदालतले उल्टाएको छ ।

कोइरालाको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसला सर्वोच्चले उल्टाएको हो ।

जबरा र केसीको पूर्ण इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो । सजाय घटाइदिने फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो ।

पुनरावलोकनको निवेदनमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीशहरू टंक मोक्तान, कुमार चुडालको इजलासले कैद सजाय घटाउने फैसला उल्टाउँदै २० वर्ष नै सजाय कायम गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

सर्वोच्चले सजाय घटाएपछि कोइराला जेलबाट छुटिसकेका छन् । कोइरालाले करिब ९ वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङको जंगलमा लगेर आगो लगाएका थिए ।

यसअघि गत साउनमा सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाको मुद्दामा पुनरावलोकनको लागि अनुमति दिएको थियो ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार रेग्मी र प्रकाशकुमार ढुंगानाको इजलासले पूर्वडिआइजी कोइरालाको सजाय मिनाहा गर्ने सर्वोच्चकै फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएको हो ।

पत्नी गीता ढकालको हत्यामा दोषी ठहर भएका कोइरालालाई जिल्ला अदालत र पुनरावेदनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गराएका थिए ।

सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका थिए ।