काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले मनपरी मूल्य बढाएर जनताको ढाड सेकेको आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे बिहीबार बसेको संसद् बैठकमा धारणा राख्दै उनले सरकारले अर्थतन्त्रलाई तहसनहस बनाएको पनि आरोप लगाए ।

‘यो गठबन्धन सरकारले जनतालाई चर्को मूल्यवृद्धिको मारमा पारेको छ । अर्थतन्त्रलाई तहसनहस बनाएको छ । यो म्यादी सरकारले मनपरी मूल्य बढाएर जनतालाई सताएको छ,’ ओलीले भने ।

उनले पेट्रोलियम पदार्थको मूल्य मनपरी बढाइएको भन्दै आपत्ति पनि जनाए । ‘हरेक वस्तुको मूल्यलाई प्रभावित गर्ने पेट्रोलियम पदार्थको मूल्य मनखुसी बढाइयो । वैशाख ३० गते भोट हालुञ्जेल मौन बस्यो । तर, भोट खसाइसकेपछि मल्यूवृद्धिको डन्डाले हानियो,’ ओलीले भने ।