काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चलअचल सम्पत्ति राज्यको नाममा गरिदिएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले भने, ‘सबैलाई म चुनौती दिन चाहन्छ मैले आफ्नो सम्पूर्ण चलअचल सम्पती राज्यको नाममा गरिदिएको छु । मैले मेरो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको नाममा गरिदिएको छु ।’

ओलीले आफूले केका लागि भष्टाचार गर्ने भनेर प्रश्नसमेत गरे । उनले राज्यका नाममा सम्पत्ति हस्तान्तरण गर्न प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री सबैलाई चुनौती दिए ।

‘ममाथि औँला ठड्याउनुभन्दा अगाडि कुनै महानुभाव निस्किनुस् न राज्यका नाममा सम्पत्ति हस्तान्तर गर्ने । केपी ओलीलाई मुखभरीको जवाफ दिनलाई भए पनि यही संसदबाट घोषणा गर्नुस् त ल । मैले सम्पत्तिमा लोप गर्नुपर्ने, अर्काका नाममा राखेर, अर्कालाई सम्पत्ति खुवाएर आफू बदनाम हुनुपर्ने कारण छैन ।’