जनकपुरधाम, ११ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टीले स्थानीय चुनाव दलीय आधारमा नभई व्यक्तिगत क्षमता र योग्यताको आधारमा गर्नुपर्ने माग गरेको छ ।

पार्टी अध्यक्ष वृषेशचन्द्र लालले बुधबार एक विज्ञप्ति जारी गर्दै स्थानीय सरकारले विकास, सरसफाइ, स्वास्थ्य, शिक्षा, व्यापार, दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वरोजगारीमा वृद्धि तथा कृषि र पशुपालन, स्थानीय भाषा, संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्नुपर्ने भएकाले पार्टीभन्दा योग्य व्यक्तिमा जोड दिनुपर्ने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘स्थानीय तह मूलतः स्थानीय विकाससँग सम्बन्धित तह भएको हुँदा यसको निर्वाचन राजनीतिक दलको आधारमा नभई व्यक्तिको क्षमता, दृष्टि तथा जनमानसमा विश्वसनीयताको आधारमा गरिनुपर्ने हाम्रो पार्टीको मान्यता हो ।’

निर्वाचनलाई अझ विश्वासिलो र निष्पक्ष बनाउन इलेक्ट्रोनिक मतदान तथा निर्वाचन आचारसंहिताको पालनाको सुनिश्चितता आवश्यक भएको ठहर तमलोपाले गरेको छ ।