जनकपुरधाम, ११ जेठ । जनकपुरधाममा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बिच सडकमै स्थानीय युवाहरुको आयोजनामा मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको हो ।

उनीहरुले बिच सडकमै मोटरसाइकल तेर्सयाएर एलपी ग्यास सिलिण्डरसहित विरोध प्रदर्शन गरेका हुन् ।

पाँच दलीय गठबन्धनको सरकारले जनतालाई राहत भन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, ई–रिक्सा र सिलिण्डरहरुलाई बिच सडकमै राखेर सांकेतिक रुपमा विरोध गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा जनतालाई असर परेकाले यसको विरुद्ध सबैजना एकजुट भएर मूल्यवृद्धि फिर्ता नहुञ्जेल आन्दोलन जारी रहने स्थानीय यूवा अभियन्ता सुशील कर्णले बताए ।

कर्णले जनतालाई सास्ती हुनेगरी गरिएको मूल्यवृद्धिले जनजिविका चलाउन निकै कठिनाइ भएको बताए ।

सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ ।

हेर्नुहोस् विरोध प्रदर्शनका केही तस्बिरहरु :